>
Sanchar Club

मदिरा पिएर गाडी चलाएको अभियोगमा अमेरिकी सभामुखका पति पक्राउ

मदिरा पिएर गाडी चलाएको अभियोगमा अमेरिकी सभामुखका पति पक्राउ
सञ्‍चार क्लव
४ हप्ता पहिले

२०७९ जेठ १७ एजेन्सी । अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रिजेन्टिटिभ्सकी सभामुख न्यान्सी पलोसीका पति पक्राउ परेका छन्। क्यालिफोर्नियामा मदिरा सेवन गरी गाडी चलाएको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो। ​

नापा काउन्टीमा शनिवार राति पोल पलोसीको गाडीले अर्को गाडीलाई ठक्कर दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनामा कसैलाई चोटपटक नलागेको र अर्का चालकलाई पक्राउ नगरिएको बताइएको छ।

८२ वर्षीय पोल पलोसीमाथि दुर्व्यवहारका दुईवटा आरोप लगाइएको र धरौटीबापत पाँच हजार अमेरिकी डलर तोकिएको बीबीसीले जनाएको छ । क्यालिफोर्नियामा कुनै पनि व्यक्तिको रगतमा मदिराको मात्रा ०‍।०८ प्रतिशतभन्दा बढी पाइएमा उसले गाडी चलाउन पाउँदैन। यद्यपि पोल पलोसीको रगतमा कति प्रतिशत मदिरा पाइयो भन्ने जानकारी अधिकारीहरूले सार्वजनिक गरेका छैनन्।