>
Sanchar Club

डा.विष्णुमाया परियार : राज्यको मौनता र दलित बुद्धिजीवीको उदासीनता किन ?

डा.विष्णुमाया परियार : राज्यको मौनता र दलित बुद्धिजीवीको उदासीनता किन ?
सञ्‍चार क्लव
२ हप्ता पहिले

२०७८ भदौ २१ काठमाडौं ।  राज्यको मूल प्रवाहीकरणमा पर्नबाट छुटेको, छुटाइएको एक वर्ग समुदायको मान्छे डाक्टर विष्णुमाया परियार । राज्यले संस्थागत गरेको बन्चितिकरणका अनेकन् अघोषित-घोषित नीति छिचोल्दै, झ्याल ढोका फोर्दै सफलताको सिँढी चढेर विश्वमै उत्कृष्टहरूको हारमा पुग्छिन् तथापि त्यो दलित समुदाय र सिङ्गो देश गर्वले रोमाञ्चित बन्नुपर्ने थियो त्यो हुन सकिरहेको छैन । एक सीमान्तकृत दलित समुदायको मान्छे दूर दराजमा जन्मेर पनि आफ्नो लगन र मेहनतले  संसारकै उत्कृष्ट मान्छेको लहरमा विश्व प्रसिद्ध प्रकाशकको पुस्तकमा देख्न पाउँदा आम नेपालीको नाताले म खुशी छु । म यसर्थ पनि उनको बारेमा लेख्न पाउँदा गर्व गर्छु म जसको बारेमा लेख्दै छु । त्यो समुदाय र तिनका पुस्तौँ पुस्ताले यो देशलाई घात गरेका छैनन् । देश बेचेका र स्वाभिमान गिर्ने हर्कत गरेका छैनन् । यो देश आज जहाँ जे जस्तो अवस्थामा आइ पुगेको छ त्यसको जग खन्ने, गाह्रो लगाउनेदेखि छानो हाल्ने सिंगार, मर्मत गर्नेदेखि सुरक्षा गर्ने सबै जिम्मेवारी आज पनि अछुत भनिएको समुदायले गरेको छ ।

पिँधमा रहेको तल्लो स्तरको जीवनस्तर बाँच्ने नेपालीले गरेको छ तर व्यक्तिको घरमा होस् या राज्यरूपी घरमा उनीहरू कहिल्यै भित्र पस्न पाएका छैनन् । कहिल्यै देशविरुद्ध मानवताविरुद्ध लागेको अपराधी करार भएको उदाहरण त्यो समुदायसँग छैन । बरु उपेक्षित र किनारमा पारिएर पनि आफ्नो सिप, क्षमता,जाँगर, पसिना, श्रम कलाकारिता र साधनाले यो देशलाई यहाँसम्म ल्याइपुर्‍याएका छन् । त्यही समुदायको गर्व गर्न लायक पात्र भएको कारण विष्णुमाया स्तुतियोग्य छन् । हुन त सधैँ ठुला भनिएकाको स्तुति गर्दै र सुन्दै आएका हामी विष्णुमायाको कर्म र योगदानलाई सम्मान र प्रशंसा गर्दा असजिलो मान्छौँ । राज्यले हुर्काएको गलत सामाजिक कुनीति र कुप्रथाको अनेकन् तगारा पन्छाउँदै, अनगिन्ती बाधा र व्यवधान छिचोलेर विष्णु जुन उचाइमा उक्लेकी छन् त्यो अपरिमेय छ । उनको सफलतामा आम मान्छे जसले यो खबर सुनेका छन् पढेका र देखेका छन् तिनीहरू खुसीले उद्वेलित छन् ।

तर दुःखको कुरा यो देशको राज्य सञ्चालकहरू, देशका ठुलठुला विद्धान, बुद्धिजीवी जसलाई यो खुसीले छुन नसकेको देख्दा र दलित अधिकार अनि तिनको मुक्तिको लागि काम गर्ने अगुवा समेतलाई कतै सुखद अनुभूति नभएको देख्दा । कुनै पनि दलित समुदायका नेताहरू अगुवा र दलित आन्दोलनका मसिहा भन्नेहरूको खुसीयाली सार्वजनिक भएको छैन । एकाध अपवाद छोडेर अरू दलित हस्तीहरू मौन छन् । मानौँ तिनीहरूलाई थाहा छैन र थाहा भए पनि यो उल्लेख्य उपलब्धि होइन र दलित आन्दोलन र मुक्तिको सवालमा यसको अर्थ छैन । अनावश्यक र औचित्यहीन पोष्ट गरेर सार्वजनिक प्रदर्शन गर्ने दलित समुदायका महारथीहरू विष्णुको सफलताबारे केही मिडियामा आए तर तिनीहरूको अँध्यारो भित्तोमा यसले स्थान पाएन । त्यो किन सङ्कीर्णता, लघुताभास या उपेक्षा के यसै हो त ? विष्णु माया परियारले पाएको सफलता उनको नितान्त व्यक्तिगत उपलब्धि र निजी मामला मात्रै हो ?

यदि होइन र सबैको साझा उपलब्धि र पहिचान हो भने खै विष्णुलाई राष्ट्रपति र प्रधानमन्त्रीले बधाई ज्ञापन गरेको ? खै आम सञ्चार माध्यमले विष्णुको जीवनी नेपाली स्कुल कलेज र विश्वविद्यालयमा पढाई गर्नुपर्ने माग राखेर सम्पादकीय रचना गरेको ? राष्ट्रको ध्यान आकृष्ट हुने गरी किन लेख्दैनन् पत्रकारले ? किन सामाजिक दायित्व र बौद्धिक खबरदारीमा चुक्दै छौँ हामी ? सफलता प्राप्तिको समाचार एक कुनामा लेखेर सामान्य जानकारी  मात्रै दिएर पुग्दैन ? हाम्रो राष्ट्रिय भूमिका निर्वाह गर्नै पर्छ । कान नसुन्ने राज्य संयन्त्रलाई भन्नै पर्छ विष्णुमायालाई संसारले चिन्यो तिमी किन चिन्दैनौ ? विश्वका प्रतिष्ठित पाठ्यपुस्तक र पाठ्यक्रममा पढाइने विष्णुको प्रेरणादायी जीवनी नेपालमा नपढाउने किन ? उनको जीवनी पढाइनु आजको राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भमा किन अपरिहार्य छ ? बहस बौद्धिक र तार्किक कोणबाट उठ्नु जरुरी छैन र ? मान्छे जीवित रहँदै उसको योगदानको कदर गर्ने र अरूलाई समेत प्रेरित गर्ने राष्ट्रिय आदतको विकास गर्न ढिला नगर्ने कि ? किन दलित आन्दोलनका परमर्मज्ञ र विशेषज्ञलाई विष्णु परियारको सफलताले छुन सकेको छैन ? बरु बिझाएको, दुखेको र असहज भएको जस्तो देखिन्छ । विष्णुको उचाइ चुलिँदा आफ्नो हाइट घटेको मनोविज्ञानले कतिलाई सताएको छ ? लघुताभासबाट ग्रसित भएर हीनताबोध गरिरहनु भएको त छैन ? भित्र भित्र, कता कता पोलेर अज्ञात भयको ऐँठनले गलित र भयभीत भएर बसेको हुनुहुन्न दलित आन्दोलनका सर र म्यामहरू ? होइन भने बधाई र शुभकामना भन्न किन कन्जुस्याइँ ?

मलाई लाग्छ विष्णुको उपलब्धिलाई देशले मज्जाले सेलिब्रेसन गर्नुपर्छ । राष्ट्रिय गौरवको विषय मान्नुपर्छ । अमेरिकाले २०१५ मै विष्णुमाया डे घोषणा गरेर हाम्री चेलीको सम्मान गरेको तथ्यबाट केही सिक्ने कि ? यदि आज हामी सङ्कुचित भएर बस्यौ भने भोलिको पुस्ताले पनि उदारता र फराकिलो छाती प्रदर्शन गर्न जान्दैन । समाजको विविधतालाई स्वीकार गरेर विविध सफलतालाई आफ्नो ठान्ने मन बनाउँदैन भने आफ्नो सफलतामा पनि वा भनेर गर्व गरिदिने मान्छे पाइने सम्भावना कम हुन्छ  । केही विद्धान र बुद्धिजीवी समाजमा त्यस्ता पनि छन् जसलाई आफूले प्राप्त गरेको शैक्षिक उपाधि नै संसारमा सब थोक हो । मेरो ज्ञान र क्षमताले नै विश्व चलेको भ्रम र घमण्ड छ । विशाल ज्ञानको सागरबाट एक थोपो त के आधा थोपो ज्ञान मात्रै लिनु ठुलो कुरा होइन । तर म मात्रै जान्ने सर्वज्ञ सम्झने दलित समुदायका मान्छेको घमण्ड देख्दा लाग्छ विष्णुको विनयशीलता र प्राप्ति तुच्छ हो । विष्णुको सफलताले देश उद्वेलित बन्नुपर्ने दलित समुदायका सारा अवयवलाई हर्षोल्लास गर्न तिनका अगुवा र नेताले उत्प्रेरित गर्नु पर्ने । तर विडम्बना सबै चुप छन् । कुनै खुसीयाली होइन, सन्नाटा छ ।

के विष्णुको सफलता दलित र सारा नेपालीको लागि खुशी,गर्व र उपलब्धिको विषय हुन सक्दैन ? आम नारी दलित र सम्पूर्ण नेपालीको खुशी बनाएर जब हामी जान सक्दैनौ तबसम्म हाम्रो चेतना र बौद्धिक स्तर आज पनि संसार नदेखेको कुवाको भ्यागुता समान हुनेछ । विष्णुको खुशीलाई राष्ट्रिय खुशीमा परिणत गर्न नजान्नुमा हाम्रो सामाजिक र मनोवैज्ञानिक पक्ष पनि विवेच्य छ । विष्णु कथित अछुत हुन् । गरिब विपन्न परिवारकी गाउँले काइँला दमाईं र काइँली दमिनीकी छोरी हुन् । के गरिब हुनु गाउँले दमाईंको झुपडीमा छोरी भएर जन्मनु उनको दोष हो ? अझ तपाई र तपाईं-हाम्रो परिवारले नपाएको सफलता पाएर विष्णुले नकाम गरिन् ? यदि त्यो सोचाई आज पनि हामी र हाम्रा भाग्य विधाता नीति निर्माण तहमा रहेका मान्छे र समाजका बग्रेल्ती थरीथरि परिकारका अभियानकर्ता, अभियानकर्मी र देशका गन्यमान्य विद्धान, बुद्धिजीवी प्राध्यापक र राजनीतिज्ञ अभियन्ताहरूसँग  रहनु र देखिनु पक्कै पनि विडम्बना हो ।

हामी पछि परेको यही निम्न कोटीको सोच र अरूले गरेको प्रगतिमा आफूलाई दाँज्ने हीन भावनाको कारण हो । आँखा खोलौँ । अबको युग जाति, धर्म कुल र खानदानको परम्परागत परिभाषाको होइन कर्म श्रेष्ठताको हो । अवैज्ञानिक, पुरातन सोच, गलत चिन्तन र शैलीको क्रम भंगताको युग हो । अवसर नपाएर अरू थुप्रै विष्णुमायाहरू हिरा भएर पनि उत्खनन गर्न बाँकी छन् । अरू धेरै विष्णुमायाहरूलाई अवसर र क्षमताले सफलताको शिखर चढाउन पनि विष्णुमाया नेपालमा पनि पढाइनु पर्ने व्यक्तित्व हो । समतामूलक छूत अछुत बिनाको सभ्य समाज निर्माण गरौँ । जसको लागि अवसर पाएका र संरचनागत लाभांश पाएकाहरूको छाती चौडा गर्नु अपरिहार्य छ । नेपाली छोरी विष्णुको खुशीमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले उनीसँगको फोटो शेयर गर्दै लेखेका छन् ।

 ‘मैले २०१९ मा नेपाली सामाजिक कार्यकर्ता डाक्टर विष्णुमाया परियारलाई व्यक्तिगत रूपमा भेट्ने अवसर पाएको थिएँ । समावेशीकरण र समानताको लागि उनको कामबाट प्रेरित भएको थिएँ । उनी द राइटर्स माइन्डसेटमा चित्रित भएकी छिन् जहाँ उनले अझ धेरैलाई प्रेरित गर्न सक्छिन् ’ विष्णुको बारेमा महामहिम राजदूतले सफलतालाई कसरी ‘सेलिब्रेट’ गर्ने भन्ने संस्कार सिकाएका छन्  । तर हाम्रो राज्य प्रणालीको उपल्लो तहमा बस्नेदेखि सामान्य मान्छे सम्ममा त्यो अभाव छ । कुनै ठेकेदार कमिसन खोर र व्यापारीले पाएको सानो सफलता र द्रव्यको  उपलब्धिमा हाँपर झाँप गरेर बधाई र शुभकामना दिने नेता कार्यकर्ता, बौद्धिक र बुद्धिजीवी भएको देशमा मानक उपलब्धि प्रयोजनहीन लाग्छ ।  फुस्रा उपलब्धिलाई द्रव्य आर्जनलाई प्राथमिकता दिइन्छ । विष्णुको उपलब्धि मानक हो ।

यद्यपि, राज्यको ध्यान र राज्यको नीति निर्माणमा वर्चस्व राख्ने वर्गको दृष्टि यता गएको खासै पाइन्न । हाम्रो सत्ता प्राथमिकताको सूचीकरण गर्न सधैँ चुकेको र पछि परेको छ । त्यसैले हाम्रो बौद्धिक दरिद्रता यहाँ छर्लङ्ग छ । अरूको उच्चतालाई आफ्नो लघुताभाषसँग जोड्ने दलित बुद्धिजीवी र तिनको नेतृत्वगणले विष्णुमाया परियारबारे साँधेको मौनता पटक्कै चित्त बुझ्दो छैन । दलित समुदायले राष्ट्रिय रूपमा विष्णुमायाको योगदान र सफलतालाई स्थापित गर्ने दायित्व लिनुपर्थ्यो । तर उनको उपलब्धिले के पायो के दियो भनेर प्रश्न र प्रतिप्रश्न गर्दै उनको अवमूल्यन गर्दै गरेको पाइन्छ । एउटा दमाईंकी छोरीको अन्तर्राष्ट्रिय परिचय उनको सङ्घर्ष, दुःख अनि सीमान्तकृत समुदाय कसरी नेपालमा पछाडि छन्, छुवाछूत जस्तो अमानवीय हर्कत कस्तो रूपमा छ, त्यो दलित आन्दोलनलाई पृष्ठपोषण गर्ने उपलब्धि होइन र ? विश्वको ध्यान खिच्ने नेपाली अछुत भनिएको नारीको कहानी ११ सय भन्दा बढी स्कुल कलेज र विश्व विद्यालयमा पढाई हुनु भन्दा ठुलो मूल्यको उपलब्धि अरू के हुनसक्छ ?

अमेरिकी प्रकाशक संस्था म्याकग्रो हिल जसको पुस्तक सशुल्क किन्ने ४३ लाख भन्दा बढी विद्यालय, विश्वविद्यालय विद्यार्थी र प्रोफेसर भएको आँकडा २०२० को सर्वेक्षणमा समेटिएको छ । दि राइटर्स माइण्डसेट पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णु मायाको कहानी पुस्तकको ६९२ पृष्ठ मध्य ५९१-५९४ बिचको चार पृष्ठमा छ जुन आफैँमा गहन र असामान्य प्राप्ति हो । राष्ट्र नै गर्व बोधले जुरुक्क उठेर खुसीयालीमा सरिक हुनुपर्नेमा उनकै समुदाय जसको लागि अनवरत काम गरिन् त्यो दलित समुदायका विभिन्न अवसर प्राप्त, नाम प्राप्त राजनीतिमा पनि रहेका मन्त्री, सांसद ,राजदूत र विभिन्न लाभको पद धारण गरिसकेका अनि विश्वका ख्यातिप्राप्त विश्व विद्यालयबाट शिक्षित र दीक्षित कतिपय दलित समुदायको मान्छेले गौरवान्वित हुन देखाएको सङ्कीर्ण सोचले सच्चा नेपालीको मन दुखेको छ ।

अन्तर्राष्ट्रिय पहिचान र ख्यातिले डाक्टर परियारको परिचय फराकिलो बनिरहँदा नेपालबाट आफ्नो जन्मभूमिका शीर्षस्थ ,प्रधानमन्त्री, राष्ट्रपतिले बधाई र शुभकामना दिएको सुन्न मन थिएन र भएन होला र ? आफ्नै समुदाय जो दलित भनेर दलित हक अधिकार र मुक्तिको कुरा गर्छ तिनीहरूको लागि विष्णुमायाको सफलताले नछुनु र हर्ष नलाग्नु निश्चय नै आश्चर्य र बिस्मातको विषय बनेको छ । एउटा आफ्नो सदस्यको सफलतामा खुशी बाँड्न नसक्नेले समग्र दलितको मुक्ति र स्वतन्त्र अस्तित्वको लागि लड्न सक्ला र ? म यो प्रश्न गर्न चाहन्छु । आफ्नो माटो आफ्नो परिवेश आफ्नो देशलाई माया गर्ने विष्णु परियारको सफलमा देशले गर्व गर्न र उनलाई सम्मान दिन चुक्नु हुँदैन । विष्णुको मर्यादा र सम्मानमा ६० लाख दलितको आत्मसम्मानसँग पनि जोडिएको छ भने देशको आधा जनसङ्ख्या भएका नारीहरूको प्रतिनिधित्वको सवाल छ । त्यति मात्र होइन गरिब विपन्न दलितको घर आँगनबाट उठेर संसारको ठुलो देश  अमेरिका र विश्वका थुप्रै देशमा आफ्नो सामाजिक कार्य र पहिचानले निर्मित भएको अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्मानको विषय पनि हो ।

विश्वमा उत्कृष्ट घोषित मान्छेको सङ्घर्ष र मेहनतको कदर पनि हो । राष्ट्रिय प्रतिभाशाली व्यक्तित्वको मूल्याङ्कन गर्ने र देशले अपनत्व लिने मौकाको रूपमा यसलाई लिनुपर्दछ । राष्ट्रले बसाल्ने सम्मानको सुसंस्कृत प्रणालीको संस्थागत विकास पनि हो । विश्वले डाक्टर विष्णुमाया परियारबारे पढ्न पाउने तर नेपालमा किन नमिल्ने ? हाम्रा सन्ततिले स्कुल, कलेज र विश्वविद्यालयमा विष्णुलाई पढ्ने र उनको बारेमा शोध अनुसन्धान गर्ने प्रेरणा लिने कि नलिने ? व्यक्तिको रूपमा राज्यले आफ्नो पाठ्यक्रममा साधारण व्यक्तिको असाधारण जीवनी सङ्घर्षको कथा व्यथा सफलतालाई स्थान दिनु असल कर्मको पूजा गर्नु हो । हजारौँ वर्षदेखि पाखा पारिएको एक उपेक्षित समुदायको सदस्यको सफलतामा राज्यले उदारता प्रदर्शन गर्नुमा धेरै कुराले अर्थ राख्छ । राज्यको मौनता र दलित बुद्धिजीवीको उदासीनता र उपेक्षाले दुःखको भुमरीबाट उठेको राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तित्वको अवमूल्यन किमार्थ गर्न पाइने छैन । हाम्रा कुरा डटकमबाट साभार 

https://www.sancharclub.com/
and
ad5
ad11
ad12
new ad
ad 2
ad3
ad4
ad5
ad6
ad7
ad8
a